काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलहरुबीचको मतभेदलाई निरुपण गर्नुपर्ने बताएकी छन्।
शुक्रबार राष्ट्रपति भवन शितलनिवासमा तुल्सीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘बौद्धिक राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रम’मा बोल्दै राष्ट्रपति भण्डारीले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र सामाजिक, आर्थिक रुपान्तरणका लागि राजनीतिक दलहरुबीचको मतभेदलाई लोकतान्त्रिक विधिबाट निरुपण गर्नुपर्ने बताएकी हुन्।
उनले राष्ट्रियताको मर्मलाई आत्मासात् गर्नुपर्ने पनि बताइन्। संविधानले प्रत्याभूत गरेका अधिकारहरुको संरक्षण र कार्यान्वयनबाट मात्रै स्थायित्व प्राप्त गर्न सकिने उनको भनाइ छ।
राष्ट्रपति भण्डारीले अरबौँ रुपैयाँको कृषि उपज आयात गरी व्यापार घाटा बेहोर्नु परेको भन्दै कृषि उत्पादन र उत्पादकत्वमा जोड दिनुपर्ने बताइन्।
उनले सामाजिक न्यायसहितको समृद्धिलाई लक्ष्य बनाउनुपर्नेमा जोड दिइन्। किसान, मजदुर र श्रमजीवी जनताको मुहारमा हाँसो र जीवनमा सकारात्मक परिवर्तन आए मात्रै प्राप्त गरेको राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने राष्ट्रपति भण्डारीको भनाइ छ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशी, डा. मीना आचार्य, प्राज्ञ गोपीरमण उपाध्याय, प्रा.डा. राजेश गौतम, प्रा.डा. सुरेन्द्र केसी लगायतलाई सम्मान गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।