निर्माणाधीन मन्त्रीनिवास।
काठमाडौं– संसदीय समितिले ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माणमा देखिएको अवरोध हटाउन सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिने भएको छ।
संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले आवास निर्माणस्थल वरपरको सबै बाटो ११ मिटर फराकिलो हुनुपर्ने स्थानीयको माग सम्बोधन गर्नका लागि सम्बन्धित पक्षलाई आवश्यक निर्देशन दिनुपर्ने निष्कर्ष निकालेको हो।
स्थानीयले आवासको तीनतिर ११ मिटर बाटो तय गरिएको तर एकातिर भने ८ मिटर मात्रै भएकाले त्यसलाई पनि फराकिलो बनाउनुपर्ने माग गरिरहेका छन्। स्थानीयको मागलाई सम्बोधन हुने गरी सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिन लागिएको समितिकी सभापति तारादेवी भट्टले जानकारी दिइन्।
बैठकले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवन परिसर भित्रको जीर्ण अवस्थामा रहेको नानीगंज भवनको पुनर्निर्माण तथा ढल निकास सम्बन्धी समस्या समाधानका लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ।
बैठकमा स्थानीयबासिन्दा मोहन खरेलले स्थानीयलाई न्याय हुने गरी आवास निर्माणको कामलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गराए। उनले बाटो साँघुरो हुँदा त्यसको असर स्थानीयलाई मात्रै नभई सरकारलाई पनि हुने बताए।
यता, सांसदहरुले स्थानीय तहका जनप्रतिनिधिहरुसँग आवश्यक छलफल गरेर मात्रै निर्माणाधीन आवासको कामलाई अघि बढाउन सरकारसँग माग गरे। सांसद दिनानाथ शर्माले स्थानीयको मागबारे त्यहाँका स्थानीय जनप्रतिनिधिहरुसँग बुझेर आवास निर्माणमा देखिएको समस्या तत्काल समाधान गर्नुपर्ने आवश्यक्ता औंल्याए।
अर्का सांसद चक्रप्रसाद स्नेहीले स्थानीय जनताको माग अनुसार बाटो फराकिलो बनाएर आवास निर्माण कार्यलाई तीव्रता दिनुपर्ने बताए।
सांसद कविता बोगटीले आवास निर्माणमा देखिएको अवरोध हटाउनका लागि स्थानीयको भन्दा पनि स्थानीय तहका जनप्रतिनिधिहरुको राय लिन उपयुक्त हुने धारणा राखिन्।
उनले जनप्रतिनिधिहरुसँग छलफल गरेर आवास निर्माणका क्रममा स्थानीयले राखेका माग सम्बोधन गरेर अघि बढनुपर्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।