काठमाडौं– भारतको गुजरातमा हुने एउटा व्यावसायिक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो आएको छ।
आगामी जनवरी १० देखि १२ तारिखसम्म हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन देउवालाई निम्तो आएको हो।
उक्त सम्मेलनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जनवरी १० तारिखका दिन गुजरातको गान्धीनगरमा उद्घाटन गर्ने कार्यक्रम छ। गुजरात भारतीय प्रधानमन्त्री मोदीको गृहप्रदेश समेत हो। मोदी गुजरातको मुख्यमन्त्री भएका बेलादेखि नै उक्त सम्मेलन आयोजना गर्न थालिएको थियो।
प्रधानमन्त्री देउवा निकट एक नेताले भने, 'भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन प्रधानमन्त्रीज्यूलाई निम्तो आएको छ। परराष्ट्रमन्त्रीलाई पनि निम्तो आएको छ।'
उक्त समिटमा सहभागी हुन प्रधानमन्त्री देउवा सकारात्मक रहेका पनि ती नेताले जानकारी दिए।
'सहभागी हुने भनेर निर्णय भइसकेको छैन। तर, प्रधानमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ,' ती नेताले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।