काठमाडौं- नेकपा माओवादी केन्द्र निरन्तर सत्तानिकट हुँदा केही 'फोहरमैला' लागेको अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्वीकारेका छन्। नेकपा मसाल (सम्पर्क केन्द्र)सँगको एकता कार्यक्रममा शुक्रबार बोल्दै उनले त्यसलाई बढार्न एकताले सघाउनले बताए।
मसालबाट माओवादीमा मिसिएका नेता कार्यकर्तालाई सम्बोधन गर्दै भने, 'तपाईंहरु मिहिनेती हुनुहुनछ। तपाईंको दु:खकष्ट गर्ने स्कुल हो। माओवादी केन्द्र सत्ताको नजिक पुगेपछि फोहरमैला लागेको छ। सत्तानजिक हुँदा लाग्दो रहेछ। तपाईं आएपछि सफाइमा सहयोगै पुग्छ।'
उनले क्रान्तिकारी कस्तो हुनुपर्छ भनेर एकपटक उदाहरण प्रस्तुत गर्नका लागि मसालका कार्यकर्ताको भूमिका महत्त्वपूर्ण हुने बताए। आफूहरु पनि अहिले त्यसैको छलफलमा भएकाले उपयुक्त समय रहेको दाहालले उल्लेख गरे।
उनले भने, 'यद्यपि, हामीपनि त्यसैको छलफलमा छौं। तपाईंहरु आउँदा अझ सहयोग पुग्छ।'
माओवादीलाई क्रान्तिकारी पार्टीका रुपमा उभ्याउने, मार्क्सवादलाई वैज्ञानिक प्रयोग गर्दै अघि बढ्ने उनले बताए। वडा सम्मेलन हुँदै प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनमा जुटेका बेला भएको एकताले ज्यामितीय रुपमा सदस्य संख्या थपिने प्रचण्डले विश्वास व्यक्त गरे।
माओवादीमा अहिले ८ लाख सदस्य रहेको बताउँदै एकतापछि १० लाख पुग्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।