काठमाडौं– निर्वाचन आयोगका पदाधिकारीहरूले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दैछन्। आसन्न स्थानीय तह र अन्य निवार्चनको मितिका बारे प्रधानमन्त्रीसँग छलफल हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए।
'हाम्रो पहिलो प्राथमिकता स्थानीय तहको निर्वाचन हो। वैशाखको तेस्रो साता दुईवटा मितिमा गर्नेगरि निर्वाचन मिति प्रस्ताव गर्दैछौं', उनले भने, 'निर्वाचन एकैचरणमा वैशाख २० वा २२ गते गर्नेगरि मिति प्रस्ताव गर्नेछौं।'
यसअघि प्रमुख आयुक्त थपलियाले वैशाख २० गतेसम्म स्थानीय तहको निर्वाचन गर्न सकिने अभिव्यक्ति दिएका थिए। संविधानले आयोगलाई निर्वाचनको मिति प्रस्ताव गर्ने अधिकार दिएको छ। आयोगको प्रस्तावपछि सरकारले मन्त्रिपरिषद्बाट निर्णय गर्नेछ।
अघिल्लोपटक स्थानीय तहको पहिलो चरणको निर्वाचन भएको आउँदो वैशाखमा पाँच वर्ष पूरा हुनेछ। पाँच वर्षे कार्यकाल सकिनुअघि नै नयाँ जनप्रतिनिधि चुन्नुपर्ने संवैधानिक व्यवस्था छ।
आयोगले अहिले फोटोसहितको मतदाता नामावली संकलन र अद्यावधिक गर्ने काम तीव्र रुपले गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।