काठमाडौं- नबिल बैंकले पुस ३० गते वार्षिक साधारणसभा बोलाएको छ। सभामा गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ३३.६० प्रतिशत बोनस सेयर र करसहित ४.४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस हुनेछ।
यस्तै, अधिकृत पुँजी १९ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव रहेको बैंकले जनाएको छ। सभामार्फत् संस्थापक सेयरधनी समूहबाट दुई जना सञ्चालकहरु चयन हुने छन्। अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने अजेण्डासमेत रहेको बताइएको छ।
यता, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च भएको तीन करोड ४४ लाख रुपैयाँ अनुमोदन हुनेछ। सभा दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालय परिसर हुने जानकारी दिएको छ।
सभा गर्न पुस १६ गते बुक क्लोज हुनेछ। तसर्थ, पुस १५ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन सक्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।