काठमाडौं- नेपाल रेडक्रस सोसाइटीको दैनिक कामकाज सञ्चालन गर्ने जिम्मेवारी कार्यकारी निर्देशक उमेश ढकाललाई दिइएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ढकाललाई दैनिक कामकाज सञ्चालन गर्ने जिम्मेवारी दिने निर्णय गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले जानकारी दिइन्।
अदालतको आदेशअनुसार नेपाल रेडक्रसमा डा नेत्र तिमिल्सिना अध्यक्ष रहेको कार्यसमितिको म्याद पुस ३ बाट सकिएको थियो। मन्त्रालयले म्याद सकिएको पत्र पठाइसकेको उनले जानकारी दिइन्।
'तिमीहरूको म्याद सकियो भनेर पत्र पठाइएको छ। दैनिक कामकाज सञ्चालन गर्न त्यही कार्यसमितिको कार्यकारी निर्देशक उमेश ढकाललाई जिम्मेवारी दिइएको छ। तदर्थ समिति गठनको प्रस्ताव फेरि जान्छ। छिट्टै तदर्थ समिति बन्छ,' मन्त्री रेग्मीले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।