काठमाडौं– विभागीय क्लब नेपाल एपीएफले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ। जितसँगै एपीएफले समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ।
बिहीबार सम्पन्न खेलमा एपीएफले प्रतियोगिताबाट बाहिरिसकेको गण्डकी प्रदेशलाई १ सय १७ रनले पराजित गरेको हो।
एपीएफले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ३३ रन बनाउन सक्यो। कप्तान शिला क्षेत्रीले सर्वाधिक ८ रन जोडिन्।
अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। एपीएफका लागि करुणा भण्डारी र सुष्मा श्रेष्ठले समान दुई/दुई विकेट हात पारे।
यस्तै, सोनु खड्का, सुमन विष्ट र सिता राना मगरले एक/एक विकेट लिए।
यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन जोडेको थियो।
एपीएफका लागि ममता चौधरीले सर्वाधिक ४३ रन बनाइन्। यता, रोमा थापा र सरिता मगरले समान २६/२६ रन तथा ज्योती पाण्डेले २४ रनको योगदान गरिन्।
गण्डकीका लागि मनिशा उपाध्याले १ विकेट हात पारिन्। सेमिफाइनलमा एपीएफले समूह ‘ए’ को उपविजेता लुम्बिनी प्रदेश तथा सुदुरपश्चिमले समूह ‘ए’ को विजेता प्रदेश १ विरुद्ध खेल्नेछन्।
३ मध्ये २ खेल जितेको सुदुरपश्चिम प्रदेश समूहमा दोस्रो हुँदै अन्तिम सेमिफाइनलमा पुगेको थियो।
यता, ३ मध्ये १ खेलमा जित हात पारेको प्रदेश २ र ३ खेलमा पराजय भोगेको गण्डकी भने प्रतियोगिताबाट बाहिरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।