काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केहीदिन अघि पुँजी बजारबारे दिएको आफ्नै अभिव्यक्तिका विषयमा फेरि बोलेका छन्।
दाहालको अभिव्यक्तिले पुँजी बजारमा हलचल ल्याएपछि न्यूज एजेन्सी जेपालसँगको कुराकानीमा बिहीबार उनले आफ्नो अघिल्लो अभिव्यक्तिको बचाउ गरेका छन्। उनले आफू लगानीकर्ताको पक्षमा रहेको बताएका छन्।
दाहालले बचाउ गरेपनि सैद्धान्तिक रूपमा भने अभिव्यक्तिमै अडिग देखिएका छन्। उनी भन्छन्, ‘मैले अस्ति जे व्याख्या गरेँ र निकै ठूलो तरंग पनि आयो भनियो। मानिसहरुले नबुझेर आयो भन्ने छ मेरो। मैले भनेको अन्तर्राष्ट्रिय स्तरका प्रवृत्तिहरूबारे हो।’
उनी थप्छन्, ‘अन्तर्राष्ट्रिय आर्थिक प्रवृत्तिहरु के छ, पुँजीवादले कस्तो प्रवृत्ति बढाइरहेको छ? हामी समाजवादीले अब कस्तो प्रवृत्तितिर, कस्तो योजनातिर सोच्नुपर्छ भनेर गरेको व्याख्यालाई मानौँ नेपालको अहिले भर्खरकै संरचनामाथि हमला गरेको हो भनेको जस्तो गरी बुझियो। प्रचार गरियो।’
उनले जानिबुझी कतिपयले त्यसलाई तोडमोड गरेको आरोप पनि लगाएका छन्। उनी भन्छन्, ‘म त अहिले पनि भन्छु, पुँजीवाद अहिले वित्तीय पुँजीवादको रुपमा देखिएको छ। नाफा कमाउनु तिनीहरुको मूल ध्येय छ। पुँजीको लगानी उत्पादनमुलक कार्यमा भन्दा छिटो पैसा आउने काममा घरजग्गा किनबेचका जस्ता काममा लागेको छ।’
उनले पैसाको लगानी पैसाको लागि गर्ने, उत्पादनको लागि नगर्ने प्रवृत्ति हाबी छ भन्न खोजेको बताए।
नेपालको सेयरबजार सिद्धिनुपर्यो भन्न नखोजेको भन्दै उनले थपे, ‘म त लगानीकर्ताको पक्षमा छु। तर, मैले त ठूलो सैद्धान्तिक बहस पो गर्न खोजेको हो। नेपालले रणनैतिक रुपले कुन बाटो समात्नुपर्ला, भन्ने बहस पो उठाउन खोजेको हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।