काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीका बारेमा सत्तागठबन्धनमा छलफल गरेर सामूहिक निष्कर्षमा पुग्ने बताएका छन्।
समाजवादी प्रेस संगठन नेपाल बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले एमसीसीबारे गठबन्धनमा छलफल गरेर निष्कर्षमा पुग्ने बताएका हुन्।
‘एमसीसीका बारेमा साझा धारणा बनाउन तीन सदस्यीय कार्यदल बनेको छ। उहाँहरुले छलफल गरिरहनु भएको,’ उनले भने, ‘हाम्रा केही मान्यताहरु छन्। एमसीसीसँग जोडिएका मानिसहरुले पनि सकारात्मक कुरा गरिरहेका छन्। हामी परियोजनाको मूल अन्तर्यमा जान खोजिरहेका छौं। पहिले आफू कन्भिन्स भएर जनतालाई कन्भिन्स गर्नुपर्छ।’
उनले राष्ट्रिय सभाको निर्वाचनमा संयुक्त गठबन्धनबाट नै उम्मेदवार तय हुने भन्दै पार्टीको तर्फबाट उम्मेदवार बन्नेले विजय प्राप्त गर्ने दाबी गरे।
‘अब चुनावको सिलसिला पनि सुरु हुँदैछ। वामपन्थी र लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेरै नै अघि बढ्ने हो। नयाँ हिसाबले छलफल भइरहेको छ,’ उनले भने, ‘हामी सबै खालका प्रतिगमनविरुद्ध उभिएका छौं र फेरि पनि उभिने छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।