काठमाडौं– एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको खेल तालिका परिवर्तन भएको छ।
बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगितामा माल्दिभ्सले सहभागिता नजनाउने भएपछि पुरुषतर्फको खेल तालिका परिवर्तन भएको हो।
पुरुषतर्फ ४ टिमले मात्र प्रतिस्पर्धा गर्ने भएका छन्। पुरुषमा आयोजक बंगलादेश, नेपाल, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन्।
खेल तालिका परिवर्तन भएसँगै नेपालले पहिलो खेलमा बंगलादेशसँग खेल्ने भएको छ। नेपाल र बंगलादेशबीचको खेल भोलि (बिहीबार) हुनेछ।
यस्तै, नेपालले दोस्रो खेलमा उज्वेकिस्तान र अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन्।
यस्तै, तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने छन्। महिलातर्फ नेपालले बिहीबार श्रीलंकाविरुद्ध खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।