काठमाडौं– अमेरिकी सहयोग नियोग (एमसीसी)सँगको अनुदान सम्झौताका विषयमा साझा धारणा तय गर्न सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ। नेकपा (एकीकृत समाजवादी)का 'सम्मानित नेता' झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलको पहिलो बैठक बुधबार बसेको छ।
कार्यदलका संयोजक खनालको डल्लुस्थित निवासमा बसेको पहिलो बैठकको छलफल सकारात्मक रहेको कार्यदलका सदस्य समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। कार्यदलले एमसीसीबारे छिट्टै साझा धारणा बनाएर सार्वजनिक गर्ने तयारी गरेको कार्कीले बताए।
‘एमसीसीबारे एकै किसिमको धारणा बनोस् भनेर हामीले छलफल प्रारम्भ गरेका छौं। र, आज प्रारम्भिक छलफल भएको छ। छलफल सकारात्मक भएको छ,' कार्कीले भने, 'केही दिन छलफल गरेर हामी एउटा निष्कर्षमा पुग्छौं।'
एमसीसीबारे धेरै छलफल भइसकेको बताउँदै कार्कीले अब कसरी निष्कर्षमा पुर्याउने भन्ने दिशामा कार्यदल अग्रसर हुने जानकारी दिए। 'यसमा धेरै छलफल भइसकेको छ। अब यसलाई कसरी एउटा निष्कर्षमा पुर्याउने, त्यो बाटोमा जाने दिशामा हामी अग्रसर हुर्नुपर्छ,’ कार्कीले भने।
सत्तारुढ पाँच दलले केही दिन अघि एमसीसीबारे समान धारणा तय गर्न खनालको नेतृत्वमा नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ र कांग्रेस नेता समेत रहेका मन्त्री कार्की सम्मिलित ३ सदस्यीय कार्यदल गठन गरेको थियो।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीलाई पारित गरेर जानुपर्ने पक्षमा छन् भने सत्तासाझेदार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले यथास्थितिमा यसलाई संसद्बाट पारित गर्न नहुने धारणा राख्दै आएका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने सत्तारुढ दलहरुको धारणा आएपछि मात्रै एमसीसीबारे आफूहरुले निर्णय लिने बताउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।