काठमाडौं– सन्डरल्यान्डलाई पराजित गर्दै आर्सनल इंग्लिस फुटबल लिग (इएफएल) कारवाओ कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
आर्सनलले घरेलु मैदानमा सन्डरल्यान्डलाई ५–१ को भारी अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। आर्सनलको जितमा एडवर्ड एनकेटियाले ह्याट्रिक गरे भने निकोलस पेपे र चार्ली पाटिमोले समान एक÷एक गोल थपे। सन्डरल्यान्डका नाथन ब्रोडहेडले एक गोल गरे।
इमिरेट्स स्टेडियममा मंगलबार राति सम्पन्न खेलमा घरेलु टोलीले खेलको १७औं मिनेटमा एडवर्डको गोलबाट अग्रता लिएको थियो।
सेडरिक सोराएसको प्रहारलाई सन्डरल्यान्डका गोलरक्षक लि वर्गले बचाउँदा रिवाउन्डमा एडवर्डले गोल गर्न सफल भएका थिए।२७औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे। उनले सेडरिककै पासमा गोल गरेका थिए। ३१औं मिनेटमा नाथनले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। उनले इलिओट इम्वलटनको पासमा गोल गरेका थिए।
खेलको ४९औं मिनेटमा एडवर्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै आर्सनलाई ३–१ ले अघि बढाए। उनले नुनो टाभारेसको पासमा गोल गरे। खेलको ५८औं मिनेटमा निकोलस पेपेको पासमा पासमा एडवर्डले ह्याट्रिक पुरा गरेपछि आर्सनल फराकिलो जिततर्फ अग्रसर बन्यो।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सब्सिच्युट चार्ली पाटिमोले गोल गर्दै गोल गर्दै आर्सनलको जित पक्का गरे।
अब आज (बुधबार) राति क्वाटरफाइनलका तीन खेल हुनेछ। ब्रेन्टफर्ड र चेल्सी, लिभरपुल र लेस्टर सिटी तथा टोटेनहम र वेस्टह्यामबीच राति १ः३० बजे प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।