काठमाडौं- विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षले निष्कासन गरेका संयोजक मिलन पाण्डेले अवैधानिक कारबाहीका प्रोपोगान्डाले विचलित नहुने बताएका छन्। कारबाहीको खबर सार्वजनिक भएपछि उनले विज्ञप्ति जारी गरेर विवेकशील साझा पार्टी आफूहरुको पार्टी भएकाले त्यसलाई निरन्तरता दिने बताएका छन्।
'मैले विवेकशील साझा पार्टी निर्माणमा मेरो जीवनका सर्वाधिक ऊर्जाशील १० वर्ष खर्च गरेको छु। तत्कालीन विवेकशील नेपाली दलको महाधिवेशनबाट निर्वाचित अध्यक्ष भइरहँदा विवेकशील साझा पार्टी गठनका लागि ठूलो त्याग र जोखिम मोलेर मैले नेतृत्व लिएको थिएँ,' पाण्डेको भनाइ छ, 'म र पार्टीको मूलबाटोमा प्रतिबद्ध साथीहरु विवेकशील साझा पार्टीबाट यस्ता अवैधानिक कारबाहीका प्रोपोगान्डाले विचलित हुँदैनौँ।'
पार्टीभित्रको मतभिन्नतालाई वैचारिक सङ्घर्षमार्फत् व्यवस्थित गर्नुको साटो 'पार्टीबाट निस्कासन गरेको' भनेर निकालिएको भ्रमपूर्ण विज्ञप्ति आफूले पूर्णत: अस्वीकार गर्ने बताएका छन्। 'म पार्टीका सदस्यहरुलाई अवैधानिक बाटो हिँडेका व्यक्तिबाट प्रकाशित यस्ता विज्ञप्तिको भ्रममा नपर्न अनुरोध गर्दछु,' उनले भनेका छन्।
गणतन्त्र जोगाउँ, मुलुकको संविधान जोगाउँ, पार्टीको विधान मानौँ, धर्मको नाउँमा राजनीति नगरौँ भन्दा पार्टी संयोजकलाई सदस्यबाटसमेत हटाउने अवैधानिक, अलोकतान्त्रिक र अनैतिक कदमको पार्टीभित्र र बाहिरबाटसमेत निन्दा र भर्त्सना गर्न पाण्डेले आह्वान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।