काठमाडौं- विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षले संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्कासन गरेको छ। सो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको मंगलबार बसेको बैठकले संयोजक पाण्डेलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको मिश्रले विज्ञप्तिमार्फत जानकारी गराएका छन्।
मिश्रले पाण्डेलाई पठाएको जानकारी पत्रमा उनलाई पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गरिएको भनिएको छ। केही दिनअघि मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। त्यसको जवाफ पाण्डेले दिएका थिए।
'पार्टीले दिएको समय सीमाभन्दा एक दिन ढिलो गरी सञ्चारमाध्यम समेतबाट सार्वजनिक तपाईंको स्पष्टीकरणमा तपाईंसँग सोधिएका प्रश्नको यथार्थ, तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको केन्द्रीय कार्य सम्पादन समितिको ठहर छ', पाण्डेलाई पठाइएको पत्रमा भनिएको छ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको पुस ६ गते बसेको बैठकले विवेकशील साझा पार्टीको विधान २०७८ को भाग ७ (३१.१) को अधिकार प्रयोग गर्दै पाण्डेलाई आजकै मितिदेखि लागू हुने गरी पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको पत्रमा उल्लेख छ।
यस्तो छ पत्र :
श्री मिलन पाण्डे,
काठमाडौं।
विषय: पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गरिएको बारे।
विवेकशील साझा पार्टीको संयोजकको जिम्मेवारीमा रहेका तपाईंले पार्टीलाई गम्भीर क्षति पुर्याउे गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएकोमा मिति २०७८ मंसिर २८ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार तपाईंसँग पुस ४ गतेसम्मको समय दिएर लिखित स्पष्टीकरण (च. सं. ५०१) माग गरिएको विदितै छ।
पार्टीले दिएको उक्त समय सीमाभन्दा एक दिन ढिलो गरी सञ्चारमाध्यम समेतबाट सार्वजनिक तपाईंको स्पष्टीकरणमा तपाईंसँग सोधिएका प्रश्नको यथार्थ, तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको केन्द्रीय कार्य सम्पादन समितिको ठहर छ।
तपाईंले बरु उल्टै पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणीसहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र समानान्तर समिति नै घोषणा गरेको देखिन्छ।
अतः पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज मिति २०७८ पुस ६ गते बसेको बैठकले विवेकशील साझा पार्टीको विधान २०७८ को भाग ७ (३१.१) को अधिकार प्रयोग गर्दै तपाईंलाई आजकै मितिदेखि लागु हुने गरी पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ।
तपाईंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिन्ह तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी पनि गराइन्छ।
रवीन्द्र मिश्र
अध्यक्ष
विवेकशील साझा पार्टी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।