काठमाडौं- सुनको सिक्री लुटेर भाग्दै गरेका तीन जना पेस्तोल र गोलीसहित पक्राउ परेका छन्।
नवलपरासी पूर्व गैँडाकोट नगरपालिका-१६ अमरापुरीस्थित पसलमा बसिरहेकी ४७ वर्षीया महिलाको सुनको सिक्री लुटेर भाग्दै गरेका तीन जनालाई एक थान पेस्तोल र चार राउण्ड गोलीसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) रुपौलिया गाउँपालिका-१ बस्ने २२ वर्षीय राम बहादुर क्षेत्री, गैँडाकोट नगरपालिका-१४ बस्ने ३४ वर्षीय आशिष सुनार र नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका-९ बस्ने २० वर्षीय सञ्जय गुरुङ रहेका छन्।
ती महिला पसलमा बसिरहेको अवस्थामा लु ४० प ८४३६ नम्बरको मोटरसाइकलमा आएका तीन जनाले हतियार देखाइ सुनको सिक्री लुटेर भाग्न खोज्दा रामबहादुरलाई स्थानीयले नियन्त्रणमा लिइ राखेका थिए। उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैँडाकोट र अस्थायी प्रहरी पोस्ट बेल्डिहाबाट खटिएको प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको थियो।
अन्यको खोजी गर्ने क्रममा गैँडाकोट नगरपालिका-१४ स्थित भाग्दै गरेको अवस्थामा सञ्जय गुरुङको साथबाट उक्त हतियार फेला पारी सञ्जय र आशिषसमेतलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।