काठमाडौं– चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मङ्सिरसम्म)मा तीस अर्ब विदेशी लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्यांक अनुसार १२२ वटा उद्योगमा ३० अर्ब रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता आएको हो। विभिन्न छवटा शीर्षकअन्तर्गत उक्त लगानी प्रतिवद्धता आएको छ।
सबैभन्दा धेरै लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रमा आएको छ। सो क्षेत्रका ३५ उद्योगमा १५ अर्ब ९५ करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको हो।
यस्तै, कृषि तथा वन पैदावारमा आधारित उद्योगमा चीनबाट चार वटा लगानी प्रतिबद्धता आएको छ। प्रति उद्योगमा १५ करोडका दरले चार उद्योगमा रु साठी करोड लगानी प्रतिबद्धता आएको तथ्यांकमा उल्लेख छ।
त्यसैगरी, ऊर्जामूलक उद्योगमा नेदरल्याण्डबाट एक उद्योगमा ५ करोड ६० लाख, सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित ६ उद्योगमा ४५ करोड लगानी आएको छ।
उत्पादनमूलक क्षेत्रका १९ उद्योगमा ३ अर्ब २४ करोड र पर्यटनसँग सम्बन्धित ५५ उद्योगमा ९ अर्ब ५५ करोड बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। नयाँ व्यवस्थाअनुसार रु पाँच करोड भन्दा कम लगानीमा नेपालमा विदेशी लगानीको उद्योग दर्ता हुदैन।
विभागले सार्वजनिक गरेको पाँच महिनाको विदेशी लगानी प्रतिबद्धतामध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव चीनबाट आएको छ। पाँच महिनामा कूल प्रतिबद्धताको करिब ८० प्रतिशत चीनबाट आएको विभागले जनाएको छ। चीनबाट १०२ उद्योगमा २३ अर्ब ६४ लाख बढीको प्रतिबद्धता आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।