काठमाडौं- नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेशको मतदान सम्पन्न भएको छ। मतदान सकिएर अहिले मुचुल्का उठाउने काम भइरहेको केन्द्रीय निर्वाचन आयोगका सदस्य गोविन्द बटालाले बताए।
अध्यक्षसहित नौ जना पदाधिकारीका लागि २९ जनाले उम्मेदवारी दिएका छन्।
अध्यक्ष पदमा दीनानाथ गौतम र सरल सहयात्री पौडेल प्रतिस्पर्धामा छन्। उनीहरुले भोट खसालेर गरेर मतदान सुरु गरेका हुन्।
यस्तै तीन उपाध्यक्षका लागि १० जना, एक सचिवका तीन जना, तीन सहसचिवका लागि १० जना र एक कोषाध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिएका छन्।
प्रदेश अध्यक्षसहित पदाधिकारी सर्वसम्मत चयन हुन नसकेपछि निर्वाचन गरिएको हो। निर्वाचनमा कूल मतदाता २७५ जना रहेका छन्।
यसअघि पदाधिकारीमा सहमति हुन नसकेपछि २७५ सदस्यीय प्रदेश समिति बनाएर सम्मेलन सकिएको थियो। प्रदेश समितिमा धेरै पटक छलफल भए पनि सर्वसम्मत हुन नसकेपछि आज मतदान भएको हो।
निर्वाचन आयोगका सदस्य बटालाले आजै राति मतगणना गरी परिणाम घोषणा गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।