काठमाडौं- नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेशको पदाधिकारी चयन गर्न मतदान सुरु भएको छ। अध्यक्षसहित नौ जना पदाधिकारीका लागि २९ जनाले उम्मेदवारी दिएका छन्।
अध्यक्ष पदमा दीनानाथ गौतम र सरल सहयात्री पौडेल प्रतिस्पर्धामा छन्। उनीहरुले भोट खसालेर गरेर मतदान सुरु गरेका हुन्।
यस्तै तीन उपाध्यक्षका लागि १० जना, एक सचिवका तीन जना, तीन सहसचिवका लागि १० जना र एक कोषाध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिएका छन्।
प्रदेश अध्यक्षसहित पदाधिकारी सर्वसम्मत चयन हुन नसकेपछि निर्वाचन गरिएको हो। निर्वाचनमा कूल २७५ जना सदस्यले मतदान गर्ने छन्।
यसअघि पदाधिकारीमा सहमति हुन नसकेपछि २७५ सदस्यीय प्रदेश समिति बनाएर सम्मेलन सकिएको थियो। प्रदेश समितिमा धेरै पटक छलफल भए पनि सर्वसम्मत हुन नसकेपछि आज मतदान हुन लागेको हो। प्रदेशका नौ पदाधिकारी चयन गर्न २७५ जना सदस्यले मतदान गर्ने छन्।
कोषाध्यक्षका उम्मेवार विदुर खड्काले मतदान सकेर आजै राति गणना हुने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।