काठमाडौं– एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन युएई जाने नेपाली क्रिकेट टोलीका एक खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रतियोगिताका लागि जानु अगाडि भएको कोरोना परीक्षणमा एक खेलाडीको रिपोर्ट पोजिटिभ आएको क्यान स्रोतले जनाएको हो।
‘एक खेलाडीमा संक्रमण पुष्टी भएको छ,’ क्यान स्रोतले भन्यो, ‘बाँकी खेलाडी र अफिसियलको भने रिपोर्ट नेगेटिभ आएको छ। उनलाई एकजना छाडेर अन्य १४ खेलाडी युएई प्रस्थान गर्नेछ।’
उनको फेरि कोरोना परीक्षण भएको र यदि दोस्रो पटकको रिपोर्ट नेगेटिभ आए केही दिन पछाडि यूएई जानेछन्। यदि उनको दोस्रो पटकको रिपोर्ट पनि पोजिटिभ आए उनको स्थानमा क्यानले अर्को खेलाडी पठाउने छ।
नेपाली टोली आज सोमबार राति १०:३० बजे युएई प्रस्थान गर्ने तय छ। प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई आज दिउँसो काठमाडौंमा सोमबार आयोजित कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीको बिदाइ गरेको थियो।
प्रतियोगिताका लागि क्यानले देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको थियो। समूह ‘बी’ मा नेपालसँगै बंगलादेश, श्रीलंका र कुवेत छन्। यस समूहका खेल शारजाहमा हुनेछ।
यस्तै, समूह ‘ए’ मा भारत, अफगानिस्तान, पाकिस्तान र यूएई छन्। समूह ‘ए’का खेल दुबईमा हुने छन्। यू–१९ एसिया कप पुस ८ देखि १६ गतेसम्म चल्नेछ। नेपालले पहिलो खेल पुस ८ मा बंगलादेशसँग शाहजाहमा खेल्नेछ। यस्तै, दोस्रो खेल पुस ११ मा श्रीलंका र अन्तिम खेल पुस १३ मा कुवेतसँग खेल्नेछ।
शीर्ष दुईमा रहन सके नेपालले सेमिफाइनल खेल्नेछ। दुवै सेमिफाइनल पुस १५ मा हुनेछ। फाइनल पुस १६ मा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।