काठमाडौं– नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सले बिग बास लिगमा लगातार दोस्रो हार बेहोरेको छ। सोमबार होबार्ट पर्थ स्कोचर्ससँग ४२ रनले पराजित भएको हो।
१ सय ६८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको होबार्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २५ रन बनाउन सक्यो।
होबार्टका तल्लोक्रमका विल पार्करले सर्वाधिक २५ रन बनाए। उनले १७ बलमा १ चौका र १ छक्का प्रहार गरे। नाथन एलिसले २० रन बनाए।
यता, शीर्षक्रमका तीन ब्याट्सम्यानले भने सम्झनलायक खेल प्रदर्शन गर्न सकेनन्। म्याथ्यु वेड, डार्सी शर्ट र क्लेव ज्वेलले १३–१३ रन बनाए।
यता, सन्दीप लामिछाने ८ रनमा अविजित रहे। पर्थका तीव्र गतिका बलर एन्ड्रयु टाईले ३ विकेट लिए। एश्टन अगर र पिटर हत्जोग्लोले २–२ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको पर्थले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६७ रन बनायो। पर्थका कर्टिस प्याटरसनले सर्वाधिक ७८ रनको योगदान दिए। उनले ४८ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। एश्टन अगर ३० रनमा अविजित रहे। अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन्।
मिचेल मार्श २१, एश्टन टर्नर १२ र कोलिन मुनरो ९ रनमा आउट भए। होबार्टका जोर्डन थोमप्सनले ३ विकेट लिए। थोमस रोजर्सले २ विकेट लिए। सन्दीप लामिछानेले ३९ रन खर्चे पनि विकेट लिन सकेनन्।
यस हारसँगै होबार्ट ४ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ। पर्थ १४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।