काठमाडौं– एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।
समूह ‘बी’ को पहिलो खेलमा एपीएफले प्रदेश २ लाई ४८ रन र सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी सुरुआत गरेका हुन्।
पहिलो खेलमा ९९ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित १५.९ विकेट गुमाउँदै ५० रन मात्र बनायो। हुस्सुको कारण खेल १५ ओभरमा झारिएको थियो।
प्रदेश २ की मेलिना रायमाझीले सर्वाधिक २० रनको योगदान दिइन्। अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
एपीएफकी सुष्मा श्रेष्ठले २ विकेट लिइन् । सोनु खड्का, रेखा रावल, करुणा भण्डारी, सीता रानामगरले १–१ विकेट लिए ।
फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एपीएफले निर्धारित १५ ओभरमा ८ विकेट गुमाउँदै ९८ रन जोडेको थियो। एपीएफकी ओपनर ज्योती पाण्डेले सर्वाधिक २४ रनको योगदान दिइन् ।
यस्तै, इन्दु बर्मा २१ रनमा बोल्ड आउट भएकी थिइन् । रोमा थापा १४ र ममता चौधरी ११ रनमा आउट भइन्।
प्रदेश २ की बिमला मगरले ३ विकेट लिइन् । सन्तोषी चौधरी, अनुराधा चौधरी र रोजी कडारीले १–१ विकेट लिए ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ थालेको गण्डकी १८ ओभरमा ३१ रनमा अल आउट भयो। पेम्लम्बु शेर्पाले सर्वाधिक ६ रन बनाइन्। अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
शृष्टि जैसी ५, अञ्जली विश्वकर्मा ४, बिन्दु मगर ३ र कप्तान शीला क्षेत्री ३ रनमा आउट भइन्।
सुदूरपश्चिम प्रदेशकी दीपा जोरा र कविता जोशीले २–२ विकेट लिए । ईश्वरी विष्ट र कविता कुँवरले १–१ विकेट लिए ।
३२ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २.१ ओभरमा पूरा गर्यो । सुदूरपश्चिमकी कविता जोशी ९ र शोभा रोकायाले ५ रन बनाए। गण्डकीकी मनिषा उपाध्यायले १ विकेट लिइन् ।
समूह ‘ए’ बाट प्रदेश १ र लुम्बिनी प्रदेश सेमिफाइनलमा पुगिसकेका छन् । मंगलबार प्रदेश १ र लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ।उक्त नतिजाले समूह विजेता र उपविजेता टुङ्गो लाग्नेछ । एपीएफले बुधबार सुदूरपश्चिम र गण्डकीले प्रदेश २ सँग खेल्ने छ। सेमिफाइनल पुस १० र फाइनल पुस ११ गते हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।