काठमाडौं– एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन युएई जाने नेपाली क्रिकेट टिमको बिदाइ गरिएको छ।
काठमाडौंमा सोमबार आयोजित कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीको बिदाइ गरेको हो। नेपाली टिम आज सोमबार राति १०:३० बजे युएई प्रस्थान गर्ने तय छ।
प्रशिक्षक वसन्त शाहीले यसपटक सहभागितामा मात्रै सीमित नरहने बताए।
‘भर्खरै सम्पन्न राष्ट्रिय यू–१९ प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट भएकाले एसियन कपमा पनि राम्रो नतिजा आउनेमा विश्वस्त छु,’ उनले भने, ‘राष्ट्रिय प्रतियोगितामा जसरी खेलाडीले शतक, अर्धशतक बनाएका थिए, एसियन कपमा पनि खेलाडीबाट त्यही प्रदर्शन देख्न पाउने विश्वास लिएको छु। यसपटक हाम्रो सहभागितामा मात्रै सीमित रहने छैन।’
यता, कप्तान देव खनालले धेरैजसो खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव नभए पनि राम्रो खेलेर फर्कने बताए।
समूह 'बी' मा नेपालसँगै बंगलादेश, श्रीलंका र कुवेत छन्। यस समूहका खेल शारजाहमा हुनेछ।
यस्तै, समूह 'ए' मा भारत, अफगानिस्तान, पाकिस्तान र यूएई छन्। समूह 'ए' का खेल दुबईमा हुने छन्।
यू-१९ एसिया कप पुस ८ देखि १६ गतेसम्म चल्नेछ। नेपालले पहिलो खेल पुस ८ मा बंगलादेशसँग शाहजाहमा खेल्नेछ। यस्तै, दोस्रो खेल पुस ११ मा श्रीलंका र अन्तिम खेल पुस १३ मा कुवेतसँग खेल्नेछ।
शीर्ष दुईमा रहन सके नेपालले सेमिफाइनल खेल्नेछ। दुवै सेमिफाइनल पुस १५ मा हुनेछ। फाइनल पुस १६ मा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।