काठमाडौं– उपाधि होडमा रहेको चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अंकदूरी ४ मा झार्ने मौका गुमाएको छ।
आइतबार राति भएको खेलमा चेल्सीले घरेलु टोली उल्भ्ससँग गोलरहित बराबरी खेलेको हो। घरेलु टोलीविरुद्ध बल पोसेसनमा पकड जमाएपनि चेल्सीले गोल गर्न सकेन। यस्तै, उल्भ्सका डानिल पोडेन्सले गरेको गोलले मान्यता पाएन।
कोरोनाका कारण चेल्सीले आइतबारको खेल रद्द गर्न आग्रह गरेको थियो। तर, चेल्सीको उक्त आग्रह प्रिमियर लिगका लिग निर्देशकले अस्वीकार गरेका थिए।
उल्भ्सविरुद्ध चेल्सी आफ्नो प्रमुख खेलाडीविना मैदान उत्रिएको थियो। उसका रोमेलु लुकाकु, टिमो वार्नर, कालुम हुडसन-ओडोइ, जर्जिन्हो र बेन चिलवेल मैदान उत्रिएका थिएनन्।
यस बराबरीसँगै चेल्सीले १८ खेलमा ३८ अंक जोडेको छ। चेल्सी तेस्रो स्थानमा रहेको छ। उल्भ्स २५ अंक जोडेर १८ औं स्थानमा रहेको छ। अहिलेसम्म उल्भ्सले १४ प्रिमियर लिग भिडन्तमा ३ पटक मात्र चेल्सीलाई हराएको छ।
आइतबार नै सम्पन्न अर्को खेलमा शीर्षस्थानमा रहेको सिटीले न्युकासल युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गरेको छ।
सिटीको जितमा रुबेन डियास, जोआ कान्सेलो, रियाद महरेज र रहिम स्ट्रर्लिङले एक/एक गोल गरे। जितसँगै सिटीले १८ खेलमा ४४ अंक जोडेको छ। पराजित न्युकासल १० अंक जोडेर १९औं स्थानमा रहेको छ।
शीर्षस्थानमा सिटीको ४ अंकको अग्रता रहेको छ। सिटीभन्दा एक खेल कम खेलेको लिभरपुल ४० अंकसहित दोस्रो स्थानमा छ।
लिभरपुलले आज टोटनह्यामलाई पराजित गरे सिटीसँग अंकदूरी १ मा झार्ने छ भने चेल्सीसँग ५ अंकको अग्रता बनाउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।