काठमाडौं– शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ।
आइतबार राति भएको खेलमा सिटीले घरेलु टोली न्युकासल युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गरेको हो।
सिटीको जितमा रुबेन डियास, जोआ कान्सेलो, रियाद महरेज र रहिम स्ट्रर्लिङले एक/एक गोल गरे।
खेलको पाँचौं मिनेटमा डियासले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए। यस्तै, २७औं मिनेटमा कान्सेलोले गोल गर्दै अग्रता दोब्बर बनाए।
६३औं मिनेटमा महरेजले गोल गर्दै सिटीको अग्रता ३-० को बनाए। त्यसपछि ८६औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई ४-० को फराकिलो जित दिलाए।
जितसँगै सिटीले १८ खेलमा ४४ अंक जोडेको छ। पराजित न्युकासल १० अंक जोडेर १९औं स्थानमा रहेको छ।
शीर्षस्थानमा सिटीको ४ अंकको अग्रता रहेको छ। सिटीभन्दा एक खेल कम खेलेको लिभरपुल ४० अंकसहित दोस्रो स्थानमा छ भने चेल्सी ३८ अंकसहित तेस्रो स्थानमा छ।
लिभरपुलले आज टोटनह्यामलाई पराजित गरे सिटीसँग अंकदूरी १ मा झार्ने छ भने चेल्सीसँग ५ अंकको अग्रता बनाउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।