काठमाडौं– बंगलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनसिप फुटबलमा नेपाल फाइनल पुग्न असफल भएको छ।
बंगलादेशको ढाकास्थित सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा आइतबार सम्पन्न लिग चरणको अन्तिम खेलमा आयोजक बंगलादेशले श्रीलंकामाथि १२–० गोल अन्तरको फराकिलो जित निकालेपछि नेपालको फाइनल खेल्ने सम्भावना समाप्त भएको हो।
आजै सम्पन्न लिग चरणको खेलमा भारतसँग १–० गोल अन्तरले हारेको नेपाललाई फाइनल पुग्नको निम्ति बंगलादेशको हार अथवा बराबर भएमा गोल भिन्नताको आधारमा फाइनल पुग्ने झिनो सम्भावना बाँकी रहेको थियो। तर, बंगलादेशले श्रीलंकाविरुद्ध एक दर्जन गोल गर्यो।
जितसँगै बंगलादेश शीर्ष स्थानमा रहदै फाइनल पुगेको छ। बंगलादेशले ४ खेलमा १० अंक जोड्यो। अब बंगलादेशले उपाधिका लागि भारतसँग खेल्नेछ। भारत दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो। भारतले ४ खेलमा ९ अंक जोड्यो।
नेपाल तेस्रो स्थानमा रह्यो। नेपालले ४ खेलमा ७ अंक जोड्यो। ५ टोलीको सहभागिता रहेको च्याम्पियनसिपमा नेपालले अघिल्ला ३ खेलमा २ जित र १ बराबरी खेलेको थियो।
बंगलादेशसँग गोलरहित बराबरी खेल्दै च्याम्पियनसिपको सुरुआत गरेको नेपालले नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६–० र तेस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो। सुरुवाती दुई खेलमा श्रीलंका र भुटानलाई हराएको भारत बंगलादेशसँग पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।