काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)ले सर्वोच्च अदालतको फैसला विपरीत संसद् अवरुद्ध पारिरहेको बताएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुअघि दलको ह्वीप नलाग्ने सर्वोच्च अदालतको फैसला विपरीत गएर एमालेले संसद् अवरुद्ध पार्ने काम गरिरहेको आरोप लगाए।
आइतबार काठमाडौंमा आयोजित पार्टीनिकट समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्च घोषणा सभामा बोल्दै उनले केपी ओली अदालतको फैसलालाई मान्य पक्षमा नरहेको दाबी समेत गरे।
उनले सर्वोच्च अदालतको फैसलालाई अस्वीकार गर्दै संसद् अवरुद्ध पारेर नेकपा एमालेले संविधानलाई नै चुनौती दिने काम गरेको टिप्पणी गरे। अध्यक्ष नेपालले अदालतको फैसलालाई स्वीकार नगर्नेले संविधानको ढाडस् दिँदै संसद् अवरोध गर्नुको कुनै अर्थ नहुने दोहोर्याए।
‘जुन व्यक्तिले विधि, विधानलाई मान्दैन। संविधानको प्रावधानलाई स्वीकार गर्दैन। कानुनी शासनको मान्यतालाई अंगिकार गर्दैन। अदालतको आदेशलाई स्वीकार गर्दैन। अदालतमा विचाराधीन मुद्दाहरुमाथि बहस गर्न पाइँदैन। छलफल गर्न पाइँदैन संसद्मा’, नेपालले भने, ‘ती विषय संसद्मा ल्याउन पाइँदैन भन्ने मान्यतालाई कुल्चिन खोज्दछ। त्यही ठूल्ठूला स्वरले कराइरहेको, चिच्याइरहेको सुनिन्छ।’
अध्यक्ष नेपालले एमालेले अदालतमा विचाराधीन मुद्दालाई उठान गरेर संसद् अवरुद्ध पार्न नपाउने पनि बताए। आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको दाबी गर्दै उनले विरोधीहरुमा छटपटाहट आएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।