काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संशोधन गरेर मात्रै पारित गर्दा ठीक हुने धारणा राखेका छन्।
एमसीसीमा भएका केही प्रावधान संशोधन भएमा संसद्बाट पारित गर्दा ठीक हुने धारणा राखेको बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बताए।
संसद् अवरुद्ध भएको अवस्थामा एमसीसी संसद्मा पेस गरेर पारित गर्दा समस्या हुने प्रचण्डको भनाइ छ। तत्कालीन नेकपामा प्रचण्डसहित माधवकुमार नेपालपक्ष एमसीसी संशोधन गरेर मात्रै पारित गर्नुपर्ने पक्षमा उभिएका थिए।
उनीहरुकै असहमतिका कारण एमसीसी संसद्मा पेश हुन सकेको थिएन। अहिले पनि उनीहरु एमसीसी संशोधन गरेर मात्रै पारित गर्नुपर्ने पक्षमा यथावत छन्।
तर, सर्वदलीय बैठकमा राष्ट्रिय जनमोर्चा, नेमकिपा, राप्रपा लगायत दलले एमसीसी संसद्बाट पारित गर्न नहुने धारणा राखेको सुवालले बताए।
यस्तै, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी लगायत दलहरुले एमसीसी संशोधन गरेर पारित गर्नुपर्ने बताएका छन्। तर, सत्तारुढ नेपाली कांग्रेस भने एमसीसी पारित गर्नुपर्ने विचार आएको सुवालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।