काठमाडौं- नेकपा एमालेकी स्थायी कमिटी सदस्य डा विन्दा पाण्डेले समानताको लडाइँका लागि आलोचनात्मक चेत आवश्यक रहेको बताएकी छिन्। आइतबार आफ्नो पुस्तक 'धर्तीमाथिको दाबी : अधिकारको लडाइँ' पुस्तक विमोचन कार्यक्रममा सम्बोधन गर्दै उनले त्यस किसिमको चेत विकास भने हुन नसकेको बताइन्।
'हामी जुन बेलामा आन्दोलनमा लाग्यौं, आज्ञाकारी कार्यकर्ता बन्ने हिसाबले लाग्यौं। र, प्रश्न नउठाउने गरी हामी प्रशिक्षित भयौं। औंला नउठाउने गरी हामी प्रशिक्षित भयौं। जसको कारणले अझै पनि लडाइँ सकिएको छैन', उनको भनाइ छ।
एमालेकै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अधिकारको लडाइँमा निरन्तरता आवश्यकता रहेको बताइन्। संविधान लेखनको बेलाको संघर्ष स्मरण गर्दै उनले अहिले आएका अधिकार सहजै आयो भन्ने नठान्न आग्रह गरिन्।
'हामीले संविधान निर्माण गर्यौं। त्यतिबेला टेबल ठोकेर लड्नुपर्ने स्थिति आयो। नागरिकताको सवालमा, पैत्रिक सम्पत्तिको सवालमा, ३३ प्रतिशत सहभागिताको सवालमा, महत्त्वपूर्ण पदमा एक जना महिला हुनैपर्ने सवालमा लेखिए विषय सजिलै लेखियो भन्ने नबुझिदिनुहोला', उनले भनिन्, 'सजिलै लडाइँ भएको र सजिलै प्राप्त भएको हो भन्ने नठान्नुहोला। त्यसका लागि ठूलो लडाइँ भएको छ। ठूलो छलफल भएको छ।'

संविधानसभा सदस्य लिला न्याइच्याइँले पाण्डेको पुस्तकको मुख्य अजेन्डा नै महिला र पुरुषबीच भएको विभेद अन्त्यका निमित्त गरिएका संघर्षहरुको पूर्ण दस्तावेज भएको बताइन्। उनले आफूलाई पुस्तक धेरै सूचनामूलक लागेको बताइन्।
महिलावादलाई समाजवादको विपरीत ठान्ने गरिएकोमा उनले असन्तुष्टि जनाइन्। 'महिलावादलाई समाजवादको विपरीत मान्नु नेपालका कम्युनिस्ट पार्टीका नेतृत्वकर्ताको गल्ती हो भन्ने लाग्छ। उहाँहरुले आफ्नो अध्ययनको दायरालाई बढाउनुहुन आग्रह पनि गर्छु', उनले भनिन्।
पुस्तक सांग्रिला बुक्सले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।