काठमाडौं- काठमाडौं महानगरपालिकाको भवन निर्माणमा नक्कली कागजात पेस गरी भ्रष्टाचार गरेको आरोप लागेपछि उन्मुक्ति पाएको समानान्तर निर्माण सेवामा राजस्व अनुसन्धान विभागले छापा मारेको छ।
नक्कली कागजात बनाइ आयकर छली गरेको आरोपमा शुक्रबार समानान्तरको बानेश्वरस्थित कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको विभाग उच्च स्रोतले जानकारी दिएको छ।
निर्माण कम्पनीमा छापा मारेर विवरण संकलन गरेपछि थप अनुसन्धानको प्रक्रिया सुरु भइसकेको विभागले जनाएको छ। विभागले अनुसन्धानका लागि कर अधिकृत तोकेर अनुसन्धान थालिएको र अनुसन्धान सकिएपछि मुद्दा दायर हुने जनाएको छ।
ठेक्का पाउन नक्कली कागजात बनाएको आरोप लागेको उक्त निर्माण कम्पनीमाथि कर नतिर्नका लागि नक्कली विवरण बनाएको, नक्कली भ्याट बिल पेस गरेकोलगायत अन्य शंकास्पद कारोबारको विवरण पेस गरेर कर छली गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएपछि विभागको टोलीले छापा मारेको हो।
वार्षिक अर्बौं रुपैयाँ ठेक्कापट्टाको कारोबारमा संलग्न रहेको उक्त कम्पनीले आयअनुसार कर भने न्यून मात्रामा पेस गर्ने र पेस गरेको कागजात नक्कली बिल विजक भएको आशंकामा विभागले अनुसन्धान गरिरहेको थियो। विभागले थप अनुसन्धानका लागि कागजातहरु नियन्त्रणमा लिएको हो।
समानान्तरलाई सेटिङ, सत्ताको दुरुपयोग र पहुँचको प्रयोग ठेक्का हत्याएको आरोप पनि लाग्दै आएको छ।
काठमाडौं-१२, टेकुस्थित महानगरपालिकाको भवन निर्माणको जिम्मा पनि समानान्तरले सेटिङमा पाएको थियो। अख्तियारले महानगरका केही कर्मचारीलाई भ्रष्टाचार मुद्दा दायर गरेपछि निर्माण कम्पनी, मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई उन्मुक्ति दिँदै मुद्दा दायर गरेको थियो। आयोगले अनुसन्धानपछि काठमाडौं महानगरपालिकाका निर्देशक भैरवबहादुर बोगटीसमेत पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अधिकांश सरकारी ठेक्का उक्त कम्पनीले पाएको छ। सर्वोच्च अदालत, नेपाल आयल निगम, महानगरको भवनलगायत अन्य धेरै ठेक्का समानान्तरको जिम्मामा सेटिङको आधारमा मिलाउँदै आएको आरोप लाग्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।