काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले विभिन्न विधाका खेलाडी, प्रशिक्षक तथा रेफ्रीलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गरेको छ।
मन्त्रालयले आइतबार एक कार्यक्रमकाबीच विभिन्न विधाका ६ खेलाडीसहित ९ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गरेको हो।
मन्त्रालयबाट राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पाउने खेलाडीहरुमा उसुतर्फ जुनी राई र दीपक हमाल, करातेतर्फ सुस्मिता तामाङ र एलेन श्रेष्ठ, एथलेटिक्सकी पुष्पा भण्डारी र पारातर्फ केशव थापा रहेका छन्। उनीहरुले सम्मान पत्रसहित जनही १ लाख प्राप्त गरे।
यता, रेफ्रीतर्फ तेक्वान्दोका अशोक खड्काले सम्मानपत्रसहित नगद १ लाख प्राप्त गर्दा सोही सम्मान पाएका तेक्वान्दो प्रशिक्षकद्वय संगीना वैद्य र नोर्बु लामाले सम्मानपत्रसहित जनही नगद ५० हजार प्राप्त गरे।
यसै कार्यक्रमकाबीच मन्त्रालयले आफ्नो वार्षिक कार्यक्रम अनुसार १० जना खेलकुद पत्रकारलाई समेत पुरस्कृत गरेको छ।
कार्यक्रममा सम्पूर्ण खेलाडी, प्रशिक्षक, रेफ्री तथा खेलकुद पत्रकारलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सम्मानपत्र प्रदान गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।