काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले विभिन्न स्थानमा रहेका तर, सञ्चालनमा आउन नसकेका या कुनै कारणले बन्द रहेका खानीहरुमा निजी क्षेत्रलाई पनि संलग्न गराइ अघि बढ्न सके स्वदेशी उत्पादनको प्रवर्द्धन र कलकारखानाको विकासमा सघाउ पुग्ने बताएका छन्।
साथै, स्थानीय कृषि उपजलगायतमा पन निजी क्षेत्रलाई संलग्न गराउन उनको मागा छ। रामेछाप उद्योग वाणिज्य संघको १४औं वार्षिक साधारण सभाको मन्थलीमा उदघाटन गर्दै उनले स्थानीय स्तरमा रहेका फलाम, सिसा, कोइलालगायतका खानीहरु कुनै बन्द तथा कतिपय निकै रुग्ण अवस्थामा रहेकाले तिनको सञ्चालन गर्न सुझाव दिँदै यी खानीहरुको सञ्चालनका लागि निजी क्षेत्रलाई पनि संलग्न गराउनुपर्ने बताए।
रामेछापको ठोसेमा रहेको फलाम खानी अहिले बन्द अवस्थामा रहेकाले त्यसलाई सञ्चालनमा ल्याउन र त्यसमा निजी क्षेत्रलाई संलग्न गराउन पनि उनको माग छ।
‘पहिले सञ्चालनमा रहेको सो खानीबाट फलाम निकालेर हातहतियार लगायत उत्पादन गर्ने गरिएकोमा अहिले बन्द हुनु राष्ट्रकै लागि क्षति हो। म यस खानी तत्काल सञ्चालनमा ल्याउन नेपाल सरकारलाई माग गर्दछु। र, यस्ता खानीहरुको सञ्चालनमा निजी क्षेत्रलाई पनि संलग्न गरेर लैजान पनि माग गर्दछु’, उनले भने।
कार्यबाहक अध्यक्ष ढकालले स्थानीय स्तरका उत्पादन र तिनको औद्योगिकीकरण एवं बजारीकरणमा पनि निजी क्षेत्रलाई संलग्न गराउने खालका नीति नियमहरुमा आवश्यक परिमार्जन गर्न सुझाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।