काठमाडौं– पछिल्लो केही समययता निरन्तर घटेको सेयर बजार गत साता पनि घटेर बन्द भएको छ। गतसाता सेयर बजार परिसूचक नेप्से ७३ अंकले घटेको छ। यस्तै, गतसाता बजार पुँजीकरण समेत एक खर्ब रुपैयाँबराबरले घटेको छ।
यो साता सेयर बजार घट्नुमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति प्रमुख कारण रहेको लगानीकर्ताकोे आरोप छ। गत शनिबार एक कर्यक्रममा उनले सेरबजारसम्बन्धी अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिपछि आइतबार र सोमबार सेयर बजारमा भारी गिरावट आएको थियो।
बुधबार नेप्से यो साताकै उच्च बिन्दु २४९३.०७ मा तथा सोमबार तल्लो बिन्दु २२५९.५१ अंकसम्म झरेको थियो। परिसूचक आइतबार ८८.७० र सोमबार ७९.२३ अंकले घटेको थियो। बजार निरन्तर घटेपछि लगानीकर्ताले प्रचण्डको विरोध गरेका थिए। लगानीकर्ताको विरोधपछि प्रचण्डले आफूले लगानीकर्तालाई हतोत्साही बनाउन नखोजेको अभिव्यक्ति दिएका थिए।
त्यसलगत्तै मंगलबार सेयर बजार कारोबार सुरु भएको केही घण्टामै सकारात्मक सर्किट लागेर बन्द भएको थियो। मंगलबार सेयर बजार १३७.१८ अंकले बढेर २४१८.८५ विन्दुमा उक्लियो।
तर, बजारको त्यो यात्राले निरन्तरता पाएन। बुधबार ४.२३ अंकले घटेर २११४.६२ विन्दुमा ओर्लियो। साताको अन्तिम दिन बिहीबार ३७.८७ अंकले घटेर २३७६.७४ विन्दुमा बन्द भएको छ।
यो हप्ता सेयर बजार समग्रमा ७३.२३ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यो साता नेप्से परिसूचक समग्रमा २.९८ प्रतिशतले घटेको छ।
यस समूहको सेयर मूल्य ५.७ प्रतिशतले घटेर ४१४१.८२ अंकमा आइपुगेको छ। यस्तै निर्जीवन बीमा समूह ६२८ अंकले ओरालो लागेको छ। वाणिज्य बैंक समूहतर्फको सेयर मूल्य २४.९७ अंक, होटल समूह ६८.४ अंक, अन्य समूह ६०.९४ अंक, जलविद्युत समूह १०६.९४ अंक, विकास बैंक समूह २५४.१८ अंक, उत्पादनमूलक समूह १३१.२४ अंक, वित्त समूह ५१.६ अंक, उत्पादनमूलक समूह १४३.४७ अंक, लघुवित्त समूह १७६.२९ अंक, जीवन बीमा समूह ५७८.४४ अंक, म्युचुल फन्ड समूह ०.१२ अंक र लगानी समूह २.२७ अंकले घटेका छन्।
नेप्सेका अनुसार यसबीचमा लगानीकर्ताको सम्पत्ति १ खर्ब २ अर्ब रूपैयाँले घटेको हो। गत बिहीबार ३४ खर्ब ४४ अर्ब २६ करोड ४२ लाख रहेको बजार पुँजीकरण यो बिहीबार ३३ खर्ब ४१ अर्ब ४४ करोड ९८ लाख कायम भएको हो।
साताभर १६ अर्ब ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ। नेप्सेका अनुसार साताभर २ लाख ५२ हजार कारोबारमार्फत ३ करोड ६४ लाख ८४ कित्ता सेयर किनबेच भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।