काठमाडौं– स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड सेभियासँग पराजित भएको छ। घरेलु मैदानमा सेभियाले एट्लेटिकोलाई २–१ ले पराजित गरेको हो।
सेभियाको जितमा इभान राकिटिच र लुकास ओकम्पासले गोल गरे भने एट्लेटिकोका फिलिपेले गोल फर्काए। रमन सान्चेज पिजुवानमा शनिबार राति सम्पन्न खेलको सातौं मिनेटमा इभान राकिटिचको गोलबाट घरेलु टोली सेभियाले अग्रता बनाएको थियो। राकिटिचले करिम रिकिकको पासमा गोल गरेका थिए।
खेलको ३३औं मिनेटमा फिलिपेले थोमस लेमारको पासमा गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए।
खेलको अन्तिमतिर लुकास ओकम्पासले गोल गर्दै सेभियालाई २–१ को जित दिलाए। उनले जुलेस कोन्डेको पासमा गोल गरेका थिए।
जितसँगै सेभिया शीर्ष स्थानको रियल मड्रिडभन्दा ५ अंकले पछि छ। सेभियाको ३७ तथा रियलको ४२ अंक छ। पराजित एट्लेटिको १७ खेलबाट २९ अंक जोडेर पाँचौ स्थानमा झरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।