काठमाडौं– बार्सिलोनाले स्पेनिस ला लिगामा जित हात पारेको छ। घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले इल्चेलाई ३–२ ले पराजित गरेको हो।
नोउक्याम्पमा सम्पन्न खेलमा बार्सिलोनाको जितमा फेरान जुट्ग्ला, पाब्लो गाभिरा र निको गोन्जालेजले गोल गरे भने इल्चेका टेटे मोरेन्टे र पेरे मिल्लाले गोल फर्काए।
पछिल्लो पाँच खेलमा बार्सिलोनाको यो पहिलो जित हो। यसअघि २८ नोभेम्बरमा भिल्लारियललाई ३–१ ले पराजित गरेयता बार्सिलोनाले चार खेलमा जित निकाल्न सकेको थिएन।
खेलको १६औं मिनेटमा औसमाने डेम्वेलेको पासमा फेरान जुट्ग्लाले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। १९औं मिनेटमा पाब्लो गाभिराले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–० को स्थितिमा पुर्याए।
दोस्रो हाफमा इल्चेले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्यायो। ६२औं मिनेटमा टेटे मोरेन्टेको गोलबाट खेलमा फर्किएको इल्चेका लागि ६३औं मिनेटमा पेरे मिल्लाले बराबरी गोल फर्काएका थिए।
निर्धारित समयको खेल सकिन ५ मिनेट बाँकी रहँदा निको गोन्जालेजले गोल गर्दै बार्सिलोनालाई रोमाञ्चक जित दिलाए। उनले पाब्लो गाभिराको पासमा गोल गरेका थिए।
जितसँगै बार्सिलोना १७ खेलबाट २७ अंक जोडेर सातौ स्थानमा रहेको छ भने पराजित इल्चे १५ अंक जोडेर १६औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।