काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुला)तर्फको मतगणना जारी छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा ८०० मत गन्दा शशांक कोइराला पहिलो नम्बरमा छन्।
शशांकलाई शेखर कोइरालाले घोषित रूपमा आफ्नो टिममा राखेका थिए। तर, शेखरसंग शशांक स्पष्ट नखुलेपछि शेरबहादुर देउवा समूहले पनि आफ्नो पक्षमा राखेर मत मागेको थियो।
यस्तै, दोस्रो नम्बरमा गृहमन्त्री समेत रहेका बालकृष्ण खाण छन्। तेस्रो स्थानमा सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की छन्।
चौंथोमा रामहरि खतिवडा, पाँचौंमा अर्जुननरसिंह केसी, छैटौंमा रमेश लेखक, सातौंमा एनपी साउद, आठौंमा रामशरण महत र नवौंमा दिलेन्द्र प्रसाद बडू छन्। बलबहादुर केसी १०औं स्थानमा छन्।
शशांक कोइरालाबाहेक खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षको अग्रता कायमै छ।
केसीद्वय, महत र बडु शेखर कोइराला पक्षका हुन्।
केन्द्रीय सदस्य (खुला)तर्फ ३५ जना निर्वाचित गर्ने व्यवस्था छ। ३५ जनाको लागि ९९ जनाले उम्मेदवारी दिएका छन्। गत सोमबार सम्पन्न निर्वाचनमा कूल ४६७२ मत खसेको थियो।
बिहान करिब ११ बजेदेखि मतगणना जारी छ। अन्तिम परिणाम आउन मतगणना सुरु भएको समयबाट ९ घण्टाभन्दा बढी लाग्ने निर्वाचन समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।