काठमाडौं– जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा शनिबार भएको खेलको पहिलो हाफमा निकोसल फर्नान्डेजले गरेको गोल नै जावलाखेलको जितमा निर्णायक बन्यो।
जारी लिगमा जावलाखेलको यो पहिलो गोल हो। यसअघिका ४ खेल खेलमा जावलाखेलले गोल गर्न सकेको थिएन।
३२औं मिनेटमा ओनगना एन जुनियरको प्रयासलाई च्यासलका गोलरक्षक अर्पण कार्कीले अघि बढ्दै बचाउँदा जावलाखेल अग्रता लिनबाट चुक्यो।
३७औं मिनेटमा भारतीय निकोलस फर्नान्डेजले गोल गर्दै जावलाखेललाई १–० को अग्रता दिलाए। डिफेन्डर यान्निक केट्चाबाट बल खोस्दै ओनगना एन जुनियरले पेनाल्टी बक्सभित्र उपलब्ध गराएको बललाई अनमार्क रहेका निकोलसले सहजै गोलमा परिणत गरे।
४४औं मिनेटमा यान्निक केट्चाको फ्रिकिकमा सब्सिच्युट फरवार्ड विकास मेराग्लियाको हेडरलाई गोलरक्षक टिकेन्द्र सिहं थापाले पञ्च गर्दा च्यासलले खेलमा फर्किने मौका गुमायो।
७४औं कर्ण लिम्बुको प्रहार गोलरक्षक टिकेन्द्र सिंह थापाले मुस्किलले नियन्त्रणमा लिँदा च्यासल बराबरीबाट चुक्यो।
७७औं मिनेटमा ओनगुना एन जुनियरले दिएको बललाई सुरज ज्यू ठकुरीले गरेको प्रहार क्रसबारमा लाग्दै बाहिरिदा जावलाखेल अग्रता दोब्बर पार्नबाट चुक्यो।
जितसँगै जावलाखेलले ५ खेलबाट ४ अंक जोडेर १०औं स्थानमा उक्लदै रेलिगेसन जोन छाडेको छ। जावलाखेलले च्यासल, फ्रेन्ड्स र हिमालयन शेर्पालाई पछि पारेको हो।
जावलाखेल पहिलो र दोस्रो खेलमा मनाङ र पुलिससँग समान १–० ले पराजित भएको थियो। तेस्रो खेलमा मछिन्द्रसँग २–० ले पराजित हुँदा चौथो खेलमा बीबीसीसँग गोलरहित बराबरी खेलेको थियो।
हारसँगै च्यासल ५ खेलबाट ४ अंक जोडेर ११औं स्थानमा झरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।