काठमाडौं- काठमाडौं उपत्यकाको न्युनतम तापक्रम दैनिक जसो कम हुँदै गएको छ। जसका कारण चिसो महसूस भइरहेको छ।
आज काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार न्युनतम तापक्रम ३.४ डिग्री रहेकोमा शनिबार बिहानको तापक्रम ३ डिग्री मापन भएको छ।
उता जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री रहेको छ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमा महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शनिबार दिउँसो देशको पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहेको छ।
त्यस्तै राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।