काठमाडौं–शीर्षस्थानको मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबसँग बराबरी खेलेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा मछिन्द्रले संकटासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।
खेलको पहिलो मिनेटमा फोडे फोफाना चुक्दा संकटाले अग्रता लिने सुवर्ण मौका गुमाएको थियो। जय गुरुङको पासमा फोडे फोफानाको वान भर्सेस वानको प्रहारलाई गोलरक्षक विशाल श्रेष्ठले अघि बढ्दै बचाए।
२१औं मिनेटमा सुनिल बलका कर्नरलाई गोलरक्षक राजाबाबु थापाले पञ्च गर्दै बचाए।
दोस्रो हाफमा सुधारिएको खेल पस्कदै संकटामाथि दवाव बढाएको मछिन्द्रले ६१औं मिनेटमा गोल गरेपनि गोलले मान्यता पाएन।
सुनिल बलको पासमा मनिष डाँगीले गोल गरेपनि बल भेट्नुअघि नै गोलरक्षक राजाबाबु थापालाई फउल गर्न पुगेका थिए। त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो।
जारी लिगमा अपराजित रहेको मछिन्द्रको यो दोस्रो बराबरी हो। यसअघि मछिन्द्रले आर्मीसँग गोलरहित बराबरी खेलेको थियो। बराबरसँगै मछिन्द्रले शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिने मौका गुमाएको छ।
यता, संकटाको भने यो तेस्रो बराबरी हो। संकटाले हिमालयन शेर्पा र मनाङसँग बराबरी खेलेको थियो। मछिन्द्र एक खेल कम खेलेको मनाङभन्दा १ अंकले पछि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।