काठमाडौं- कांग्रेसको चौधौं महाधिवेशनमा सभापतिमा पराजित शेखर कोइरालाले आफूहरु निरन्तर पार्टीलाई सुधार, नीतिमुखी र परिवर्तनकारी शक्तिको रुपमा सञ्चालन गर्न जागृत रहने बताएका छन्। शुक्रबार विज्ञप्ति जारी गर्दै उनले आफ्नो उम्मेदवारीले पार्टीलाई रुपान्तरण गर्ने र नयाँ ढंगले चलाउन चाहिने मत प्राप्त भएको बताएका छन्।
'पार्टी भित्र रुपान्तरण र परिवर्तनको यो लडाइँ हामीलाई सहज थिएन। वर्तमान सभापति शेरबहादुर देउवासँग मात्र हामी प्रतिस्पर्धा गरिरहेका थिएनौं। पार्टीभित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रवृत्ति, गलत संस्कृति र संस्कारको विरुद्ध हामी लडिरहेका थियौँ। हामी लडिरहेका थियौँ। पार्टीभित्र गुट र भागबण्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधान विपरीत हुने निर्णय विरुद्ध', उनले भनेका छन्।
महाधिवेशनमा आफूहरुले राजनीतिक जित निकालेको कोइरालाको आत्ममूल्यांकन छ। 'पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने यो अभियानमा हामीसँग लड्नको लागि राजनीतिक सिद्धान्त थियो', विज्ञप्तिमा उल्लेख छ, 'हामीसँग ऊर्जावान युवाहरूको समूह थियो। पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामी विरुद्ध भयो, तर पनि हामी लड्यौँ र राजनीति जित्यौँ।'
उनले पार्टीको १४औँ महाधिवेशनको प्रतिस्पर्धा पार्टीभित्र यथास्थितिवादी र परिवर्तनकारीबीच रहेको बताएका छन्। आफूहरु परिवर्तनकारी शक्ति भएको उनको दाबी छ। 'हामीसँग निष्ठावान कार्यकर्ताहरूको भरोसा र विश्वास थियो', उनले भनेका छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।