काठमाडौं– ग्लोबल आईएमई बैंकले गैरआवासीय नेपाली तथा गैरआवासीय नेपालीद्वारा प्रवर्द्धित विदेशस्थित संस्थाहरुलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ।
बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरुमा ग्लोबल एनआरएन एफसीवाई बचत तथा मुद्दती निक्षेप खाताहरु रहेका छन्। अमेरिकी डलर, पाउण्ड स्टर्लिङ, यूरो, अष्ट्रेलियन डलर, चाइनिज युआन र जापानिज येनमा खोल्न सकिने एनआरएन एफसीवाई बचत तथा मुद्दती खातामा आकर्षक व्याजदर प्रदान गरिने छ।
यस प्रकारको खातामा अमेरिकी डलर पाँच हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा न्यूनतम मौज्दात कायम हुनुपर्नेछ। उक्त खाता सञ्चालकहरुलाई कार्ड जारी गर्दा लाग्ने वार्षिक शुल्कमा छुट प्रदान गरिने छ।
यसका साथै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ आदिको शुल्कमा छुट तथा खातावाला वा खातावालाको परिवारलाई घर कर्जा तथा सवारी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने बैंकले जनाएको छ।
अनलाइनबाट पनि खोल्न मिल्ने उक्त खातामा सञ्चालकहरुलाई विदेशी मुद्रा नेपालीमा सटही गर्नु परेमा पनि विशेष प्रिमियम प्रदान गरिने छ। साथै उक्त साँवा तथा आर्जन गरेको व्याज रकम सोही मुद्रामा फिर्ता गर्नु परेमा सहज रुपमा नि:शुल्क गर्न सकिने व्यवस्था बैंकले मिलाएको छ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यकासाथ बैंकले देशका ७६ जिल्लामा २८७ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित ८५० भन्दा बढी सेवा केन्द्रबाट २७ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।