काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा आजदेखि पाँचौ चरणका खेल हुँदैछन्। तीन चरणको खेल तालिका सार्वजनिक हुँदा मनाङका तीन खेल पोखरामा हुँदैछन्।
लिगअन्तर्गत अबका तीन चरण निकै रोचक हुने अनुमान गरिएको छ। सातौं चरणको समाप्तिमा एएफसी क्लब लाइसेन्स प्राप्त ४ टोलीमध्ये शीर्षस्थानमा रहने टोलीले एएफसी कपको छनोट चरण खेल्ने टुंगो लाग्नेछ।
शुक्रबार दिनको पहिलो खेलमा सातदोबाटो युथ क्लबले विभागीय टोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्दैछ।
सातदोबाटो युथ क्लबका सहायक प्रशिक्षक सुरज महर्जजनले आर्मीलाई रोक्दै तीन अंकका लागि खेल्ने बताए। यस्तै, अन्य टोलीका प्रशिक्षकले पनि तीन अंकका लागि पाँचौ चरणका खेलमा प्रतिस्पर्धा गर्ने बताए।
लिग अन्तर्गत दिनको दोस्रो खेलमा संकटा र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। लिगमा चौंथो चरणका खेल सकिँदा तेस्रो चरणमा अंक जोड्न असफल भएका टोलीले खाता खोलेका छन्।
एन्फाले नवौं चरणको खेल तालिका सोमबार सार्वजनिक गरेको थियो। त्यसमध्ये मनाङले खेल्ने ३ खेल पोखरामा हुनेछन् भने बाँकी सबै खेल दशरथ रंगशालामा हुँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।