काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत चेल्सीले एभर्टनसँग बराबरी खेल्दै अंक बाँडेको छ। चेल्सीले बिहीबार राति घरेलु मैदानमा एभर्टनसँग १–१ गोलको बराबरी खेलेको हो।
स्टामफोर्ड ब्रिजमा बिहीबार राति सम्पन्न खेलमा चेल्सीका लागि मासन माउन्टले गोल गरेका थिए भने एभर्टनका जरार्ड ब्रान्टवेइट गोल फर्काएका थिए। घरेलु मैदानमा एभर्टनविरुद्ध अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेपनि फिनिसिङमा चुक्दा चेल्सी बराबरीमा रोकियो।
खेलको ७०औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए। रिस जेम्सको पासमा माउन्टले गोल गरेका थिए। तर, चेल्सीको त्यो अग्रता लामो समय टिकेन।
त्यसको चार मिनेटमै जरार्ड ब्रान्टवेइटले बराबरी गोल फर्काए। एन्थोनी गोर्डनको फ्रिकिकमा उनले गोल गरेका थिए।
बराबरीसँगै चेल्सीको १७ खेलबाट ३७ अंक पुगेको छ। तेस्रो स्थानमा रहेको चेल्सी शीर्षस्थानको म्यानचेस्टर सिटीसँग ४ अंक तथा दोस्रोमा रहेको लिभरपुलसँग ३ अंकले पछि परेको छ। एभर्टन भने १९ अंक जोडेर १४औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।