काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। आज देशका पहाडी भूभागमा आशिंक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। सुदूरपश्चिमका पहाडी भू–भागको एक÷दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ।
त्यस्तै, सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको जनाइएको छ।
राति देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। त्यसैगरी राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।