काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदमा ३ समूहको मतगणना सकिएको छ।
मतगणनाको अन्तिम परिणामअनुसार २ समूहमा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार विजयी भएका छन् भने एउटा समूहमा नेता (सभापतिमा पराजित) शेखर कोइराला तर्फका उम्मेदवार विजयी भएका छन्।
महिला र आदिवासी जनजाति समूहमा देउवा पक्षका महालक्ष्मी उपाध्याय (डिना) र भीष्मराज आङ्देम्बे विजयी भएका छन्। दलित समूहमा शेखर पक्षका जीवन परियार विजयी भएका छन्।
सहमहामन्त्री (महिला)
सभापति देउवा पक्षकी उम्मेदवार महालक्ष्मी उपाध्यय (डिना) प्रतिस्पर्धी कमला पन्तलाई पराजित गर्दै सहमहामन्त्री (महिला)मा निर्वाचित भइन्।
सभापति देउवा पक्षकी डिनाले नेता शेखर कोइराला पक्षकी कमला पन्तलाई पराजित गरिन्।
डिनाले २५३३ मत ल्याइन भने कमलाले २१०५ मत ल्याइन्।
सहमहामन्त्री (आदिवासी जनजाति)
सभापति देउवा पक्षका उम्मेदवार भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन्।
सभापति देउवा पक्षका आङ्देम्बेले नेता शेखर कोइराला पक्षका विकास लामालाई पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भए।
सहमहामन्त्रीमा निर्वाचित भएका आङ्देम्बेले २७११ मत ल्याए भने पराजित लामाले १९१३ मत ल्याए।
सहमहामन्त्रीमा विजयी आङ्देम्बे नेपाली कांग्रेसको अघिल्लो केन्द्रीय कार्यसमितिका सदस्य थिए। उनी अनुशासन समितिको अध्यक्ष समेत भइसकेका छन्।
सहमहामन्त्री (दलित)
सहमहामन्त्री (दलित)मा भने नेता शेखर कोइराला पक्षका जीवन परियार विजयी भए।
उनी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार मान बहादुर विश्वकर्मालाई पराजित गर्दै सहमहामन्त्री निर्वाचित भएका हुन्।
सहमहामन्त्री (दलित)मा विजयी भएका परियारले २२१२ मत ल्याए। उनका प्रतिस्पर्धी विश्वकर्माले २११२ मत ल्याए।
जम्मा ३७ मत बढी ल्याएर परियार सहमहामन्त्रीमा विजयी भए।
परियार नेपाली कांग्रेसको यसअघिको केन्द्रीय कार्यसमितिका सदस्य थिए। उनी कांग्रेस निकट दलित संघको महासचिव समेत भइसकेका छन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पदाधिकारीमा अब ५ जना सहमहामन्त्री र केन्द्रीय सदस्यहरुको मत गन्न बाँकी छ।
अब मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना हुन बाँकी छन्।
मधेसी समूहको सहमहामन्त्रीमा शेरबहादुर देउवा पक्षबाट महेन्द्र यादव, शेखर कोइराला पक्षबाट रामकृष्ण यादव र विमलेन्द्र निधि पक्षबाट रामकृष्ण यादव उम्मेदवार छन्।
यस्तै, खसआर्य समूहको सहमहामन्त्रीमा देउवा पक्षबाट किशोरसिंह राठौर, शेखर पक्षबाट देवराज चालिसे उम्मेदवार छन्।
थारु समूहको सहमहामन्त्रीमा देउवा पक्षबाट उमाकान्त चौधरी र शेखर पक्षबाट तेजुलाल चौधरी उम्मेदवार छन्।
मुस्लिम समूहको सहमहामन्त्रीमा देउवा पक्षबाट फरमुल्लाह मन्सुर र शेखर तथा निधि पक्षबाट शेख वकिल उम्मेदवार छन्।
पिछडिएको क्षेत्र समूहको सहमहामन्त्रीमा देउवा पक्षबाट जीवनबहादुर शाही (कर्णाली प्रदेशका मुख्यमन्त्री), शेखर पक्षबाट बद्री पाण्डे र निधि पक्षबाट चेतराज बराल उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।