काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)मा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसहित सात सदस्यले कार्यसमिति बैठक माग गरेका छन्।
बिहीबार दिउँसो सातदोबाटोस्थित एन्फा मुख्यालयमा संयुक्त पत्र दर्ता गराउँदै वरिष्ठ उपाध्यक्ष नेम्वाङ, उपाध्यक्षद्धय कृष्णबहादुर थापा र वीरबहादुर खड्कासहित चार सदस्य किरण राई, दीनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामाले बैठक माग गरेका हुन।
एन्फाको कार्यसमितिमा १७ सदस्य रहेका छन्। पत्रमा एन्फाको केन्द्रिय कार्यसमिति बैठक लामो समयदेखि बस्न नसक्दा विभिन्न महत्वपूर्ण विषयहरुमाथि छलफल हुन नसेको उल्लेख गरिएको छ।
‘एन्फाको केन्द्रिय कार्यसमिति बैठक लामो समयदेखि बस्न सकिरहेको छैन। जसले गर्दा विभिन्न महत्वपूर्ण विषयहरुमाथि छलफल हुन नसक्दा सिंगो फुटबल खेलको विकासमा गतिरोध देखा परेको छ। साथमा विधि प्रक्रियाविहिन ढंगबाट संघ सञ्चालन भइरहेको छ,’ पत्रमा भनिएको छ।
आगामी २०७९ बैशाख महिनामा संघको साधारणसभा र निर्वाचन गर्नुपर्ने भएकाले पनि तत्काल बैठकबाट जिल्ला, प्रदेश र केन्द्रको साधारणसभा र निर्वाचनसम्बन्धि कार्यतालिका लगायत फुटबलको विकाससँग सम्बन्धित जिल्ला लिग, प्रदेश लिग, ए, बी, सी डिभिजन लिग र राष्ट्रिय लिग सञ्चालन बारे छलफल गर्न आवश्यक देखिएको पत्रमा जनाइएको छ।
पत्रमा वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष र सदस्यहरुले विभिन्न आवस्यक विषयमा छलफल गर्नका लागि बैठक राख्न पटकपटक अनुरोध गर्दा पनि अध्यक्ष कर्माछिरिङ शेर्पाले बेवास्था गरेको आरोप लगाएका छन्। पटकपटकको अनुरोधलाई अध्यक्षले बेवास्था गरेकोले बाध्य भएर विधानअनुसार बैठक माग गरिएको पत्रमा उल्लेख छ।
‘संघको विधानको धारा ३७ को उपधारा २ बमोजिम कार्यसमिति बैठक आयोजनाको माग गर्दछौं,’ पत्रमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।