दुई दिनअघि मात्र महाधिवेशनको चुनावी नतिजाले निराश बनेको कांग्रेसभित्र र कांग्रेसभन्दा बाहिरको समेत ठूलो पंक्तिमा बिहीबार एकाएक उत्साह देखापर्यो। त्यो उत्साह सामाजिक सञ्जालमा मात्र होइन, अरु धेरैतिर प्रकट भयो। कतिपयले टिप्पणी गरे– कांग्रेसमा नेतृत्व मात्र होइन, पुस्ता परिवर्तन पनि सम्भव रहेछ!
दुई दिनअघिको निराशाको कारण भने कांग्रेस सभापतिको निर्वाचन थियो जहाँ (यो पार्टीमा) परिवर्तनको आश गरेको (भित्र र बाहिरको) ठूलो पंक्ति केही घण्टाका नाटकीय घटनाक्रमबाट मर्माहत बनेको थियो।
सभापतिको निर्वाचन दोस्रो चरणमा पुग्ने निश्चित भएपछि त्यो पंक्तिले कांग्रेसमा नेतृत्व परिवर्तनको सम्भावना अझ सन्निकट बनेको अनुभूति गर्न थालेको थियो। किनभने शेरबहादुर देउवालाई पहिलो चरणमै जित्नबाट रोक्ने, निर्वाचन दोस्रो चरणमा पुर्याएपछि उनीइतरका सबै उम्मेदवार एक ठाउँ उभिन सकिने जोडघटाउ अनुसारको आधार त्यतिञ्जेल तय भइसकेको थियो।
‘देउवाबाट कांग्रेस नचल्ने’ घोषणा गरेका सभापतिका प्रत्यासीहरु प्रकाशमान सिंह र विमलेन्द्र निधिले एक दिन अघिमात्र कांग्रेसले अब ‘देउवाबाट मुक्ति पाउने’ आसयको वक्तव्य नै दिएका थिए। तर, मंगलबार बिहान मात्र केही घण्टाको बीचमा यस्ता नाटकीय घटनाक्रम देखापरे, सिंह र निधिले नै दोस्रो चरणको निर्वाचनमा देउवालाई नै सघाउने निर्णय गरे।
कांग्रेसमा नेतृत्व मात्र होइन, नीतिसमेत बदल्ने पुस्ता परिवर्तनको नारा लगाइरहेका गगनकुमार थापाले शानदार जित हात पार्दै गर्दा त्यसको तरंग कांग्रेस पंक्ति र आम जनमानससम्म फैलियो
योभन्दा पनि मर्माहत बनाउने खबर अर्को थियो। त्यो थियो– दोस्रो चरणको निर्वाचनअघि बहाल महामन्त्री शशांक कोइरालाले सभापतिका प्रत्यासी देउवासँग गरेको भेट र उनलाई गरेको ‘सहयोग’को बाचा। बालुवाटार पुगेर देउवालाई सहयोग गर्ने वाचा गरेको खबरलाई शशांकले नजरअन्दाज गर्नुको अर्थ थियो– उनले त्यही गरेका थिए।
अनि, अर्को यस्तै ‘बेइमानी’ रामचन्द्र पौडेलबाट भयो जसले आफूले नेतृत्व गरिरहेको समूहबाट आधिकारिक उम्मेदवार बनेका शेखर कोइरालाका निम्ति ‘कित्ता’ प्रष्ट गरिदिएनन्। अरु के कुरा, मत नै दिएनन्। बरु दोस्रो चरणको मतदानअघि चियापान गरेर देउवालाई ‘मत माग्ने’ मञ्च खडा गरिदिए। त्यसपछिको परिणाम जगजाहेर छ। ‘नयाँ अनुहार’ शेखर कोइराला पराजित भए, देउवा नै कांग्रेस नेतृत्वमा दोहोरिए।
बिहीबार आशा जगाउने काम भने महामन्त्रीको नतिजाले गरेको हो। कांग्रेसमा नेतृत्व मात्र होइन, नीतिसमेत बदल्ने पुस्ता परिवर्तनको नारा लगाइरहेका गगनकुमार थापाले शानदार जित हात पार्दै गर्दा त्यसको तरंग कांग्रेस पंक्ति र आम जनमानससम्म फैलियो। अझ गगनलाई पछ्याउँदै सम्भावना बोकेका अर्का नेता विश्वप्रकाश शर्मासमेत महामन्त्रीमा निर्वाचित हुनुले यस्तो ‘मूड’मा थप तरंग भरिदियो। त्यसैले मतगणना अन्तिम चरणमा पुग्दैगर्दा सानेपामा नारा लागेको थियो– कांग्रेसभित्र क्रान्ति, दुई तिहाइको महामन्त्री।
सबभन्दा रोचक पक्ष महामन्त्रीमा निर्वाचित दुवैजना सभापतिमा दोस्रोपटक निर्वाचित देउवा समूहका होइनन्। देउवाले अघि सारेका दुबै उम्मेदवारले कांग्रेसमा सभापतिपछिको शक्तिशाली मानिने पद महामन्त्रीमा पराजय ब्यहोरे। थापा र शर्मा पनि एकै प्यानलका थिएनन्।
उनीहरु दुबैको जितले महाधिवेशन प्रतिनिधिबाट व्यक्त भएको परिवर्तनको अपेक्षा र मतदानमा विवेकको प्रयोगलाई पनि दर्शाउँछ। बुधबार अबेर राति सकिएको उपसभापतिको मतगणनाले यसको केही संकेत गरिसकेको थियो। परिदृष्य केही भिन्न होला, तर अब मतगणना हुन बाँकी आठ सहमहामन्त्री र केन्द्रीय समितिका बाँकी पदमा आउने नतिजाको संकेत पनि यस्तै हुने आकलन भइरहेको छ।
तर, यो आकलन भइरहँदा एउटा प्रश्न जबर्दस्त उठिरहेको छ– यदि प्रकाशमान सिंह र विमलेन्द्र निधिले अन्तिम घडीमा ‘बेइमानी’ नगरेका भए, अनि शशांकले देउवालाई ‘सघाउने’ र पौडेलले मौन बस्ने निर्णय नगरेका भए के हुन्थ्यो होला?
कांग्रेसले गुमाएको अवसर
महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माले जित्नुको अर्थ कांग्रेसमा के हुन्छ? पार्टीभित्र र सार्वजनिक रुपमासमेत बनिसकेको यी दुई नेताको छबि छँदैछ, अबका चार वर्षमा उनीहरुबाट प्रदर्शन हुने भूमिकामा त्यसको उत्तर निहित हुने छ। अनि कांग्रेसभित्रका विभिन्न ‘शक्तिकेन्द्रको बेइमानी’को कोपभाजनमा परेका डा शेखरले सभापति जित्दा के हुन्थ्यो होला?
अहिलेका निम्ति डा शेखरको जितको कल्पना असान्दर्भिक भइसक्यो। किनभने कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुले त्यो प्रक्रिया नै टुंगोमा पुर्याइसकेका छन्।
देउवालाई सभापति रोजिसकेका छन्। तर, शीर्ष नेतृत्व नै परिवर्तन गर्न सम्भव यो अवसर सदुपयोग गर्न सकेको भए कांग्रेसले आफ्नो पार्टी पंक्तिमात्र होइन, समकालीन राजनीतिमै एउटा फरक सन्देश प्रवाह गर्न सक्थ्यो। त्यो सन्देश हुन्थ्यो– मुलुकको जेठो लोकतान्त्रिक यो पार्टी परिवर्तनलाई पछ्याउन र कार्यकर्ताको भावनालाई निर्णायक बनाउन सक्षम छ।
भलै कांग्रेसले आगामी चार वर्षका लागि शीर्ष नेतृत्व बदल्ने अवसर गुमाएको किन नहोस्, एउटा आशा भने जगाएको छ
अर्को सन्देश हुन्थ्यो– ‘सत्ता’को शक्तिलाई पनि पन्छाउने क्षमता यो पार्टीमा छ। त्यो किन पनि हो भने कांग्रेस महाधिवेशन निकै ढिलो हुनुको एउटा कारण देउवाको सत्तारोहणको पर्खाइ पनि थियो। उनी यो महाधिवेशनअघि नै सरकारमा जान, अनि महाधिवेशनमा पार्टी सत्ता र राजकीय सत्ता दुबैको शक्ति प्रयोग गर्न चाहन्थे। यसपालि उनको चुनावी रणनीतिको ‘एक्स फ्याक्टर’ पनि त्यही नै बन्नपुग्यो। मत माग्दा उनले प्रधानमन्त्री पद गुम्नसक्ने भनेर देखाएको खतरा, अनि पौडेलदेखि प्रकाशमानसम्मलाई दिएका भनिएका ‘आश्वासन’ले त्यही देखाउँछ।
भलै कांग्रेसले आगामी चार वर्षका लागि शीर्ष नेतृत्व बदल्ने अवसर गुमाएको किन नहोस्, एउटा आशा भने जगाएको छ। त्यो हो– १५ औं महाधिवेशनसम्म पुग्दा कांग्रेसमा नेतृत्व मात्र होइन, पुस्ता परिवर्तन नै सम्भव हुनेछ। महामन्त्रीमा गगन–विश्वप्रकाशको जितको तत्कालको अर्थ यही हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।