काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनसम्ममा पार्टीलाई एकताबद्ध बनाई स्थानीय तहदेखि केन्द्र तहसम्म बहुमतको सरकार निर्माणमा जुट्न कार्यकर्तालाई आह्वान गरेका छन्।
सभापतिमा निर्वाचित भएपछि ‘बधाई तथा शुभकामना’ दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका महाधिवेशन प्रतिनिधि तथा कार्यकर्तासँगको कुराकानीमा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले कांग्रेसलाई एकढिक्का र बलियो बनाउन प्रत्येक कार्यकर्ताको योगदान महत्त्वपूर्ण हुने बताए।
प्रधानमन्त्री देउवाले बधाई तथा शुभकामना दिन आउने महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताको जिज्ञासा धैर्यसाथ सुन्नका साथै कांग्रेस पार्टीलाई वडा, पालिका, क्षेत्र र प्रदेश तहदेखि केन्द्रसम्म बलियो बनाउन सबैले त्याग र संघर्ष गर्नुपर्ने बताए।
भर्खरै काठमाडौँमा सम्पन्न १४औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि पार्टी सभापतिमा निर्वाचित देउवाले अबिर जात्रा, विजय र्याली र नाराबाजी नगर्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।