काठमाडौं– नेकपा (माओवादी केन्द्र)को कर्णाली अध्यक्षमा विमला केसी सर्वसम्मत चयन भएकी छिन्।
पश्चिम रुकुम निवासी प्रदेश सरकारकी पूर्वमन्त्री केसीलाई अध्यक्ष चयन गरिएको सम्मेलनमा सहभागी एक नेताले जानकारी दिए।
प्रदेश सम्मेलनबाट अध्यक्षमा केसी चयन भएपनि पदाधिकारी बुधबार घोषणा गर्ने वा नगर्ने भन्ने विषयमा छलफल भइरहेको ती नेताले बताए।
‘अध्यक्षमा केसी भइसक्नु भयो। अरु ८ जना पदाधिकारी आजै घोषणा गर्ने वा भोलि भन्ने विषयमा छलफल भइरहेको छ,’ ती नेताले नेपाल लाइभसँग भने,‘ आज पदाधिकारीमा सहमति नभए भोलि छलफल गरेर चयन गर्ने तयारी छ।’
गत मंगलबार कर्णाली प्रदेश २ सय ११ सदस्यीय प्रदेश समिति बनाएर शपथ गरिएको थियो। कर्णाली प्रदेशका २ सय ११ सदस्य समितिको बैठकले सर्वसम्मत रुपमा केसीलाई अध्यक्ष बनाएको हो।
कर्णाली प्रदेश अध्यक्षका लागि पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही संघका पूर्वमन्त्री टेकबहादुर बस्नेत, निवर्तमान प्रदेश अध्यक्ष राजकुमार शर्माले दाबी गरेका थिए।
प्रदेश अध्यक्षमा धेरै नेताले आकांक्षा राखेपछि गत मंगलबार प्रदेश समिति मात्रै बनाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।