काठमाडौं– अर्जेन्टिना तथा स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर सर्जियो अगुएरोले व्यावसायिक फुटबलबाट सन्यास लिएका छन्।
अगुएरोले बुधबार मुटुको समस्याका कारण सन्यास लिएका हुन्। ‘मैले व्यावसायिक फुटबल खेल्न बन्द गर्ने निर्णय गरेको छु। मैले मेरो स्वास्थ्यका कारण यो निर्णय लिएको हुँ,’ उनले भने,‘यो मेरो लागि निकै कठिन क्षण हो।’
अगुएरो अक्टोबरमा एलाभेससँगको खेलमा छाती दुखाइका कारण मैदानबाट बाहिरिएका थिए। कार्डियोलोजिकल परीक्षणहरू पछि क्लबले उनलाई एरिथमिया (मुटुको चाल अनियमित हुनु) भएको पुष्टि गरेको थियो।
त्यो बेला बार्सिलोनाले एक विज्ञप्ति जारी गर्दै उनी रिकभर हुने प्रकृयामा रहेको र करिब तीन महिना लाग्ने जानकारी दिएको थियो।
के हो एरिथमिया?
मुटुको चाल अनियमित हुनु एरिथमिया हो। हृदयको धड्कन समन्वय गर्ने विद्युत संकेतले सही ढंगले काम नगरे एरिथमिया हुन्छ।
अर्थात् मुटुको धड्कन तीव्र गतिमा धड्कनुलाई टेकीकार्डिया भनिन्छ। अत्यन्त धीमा गतिमा धड्कनुलाई ब्रेडीकार्डिया भनिन्छ। यी दुवैभन्दा फरक हो, एरिथमिया।
यदि धड्कन असामान्य भए त्यो कमजोर वा क्षतिग्रस्त हृदयको परिणाम हुनसक्छ। तब एरिथमिया गम्भीर वा सम्भावित घातक लक्षण उत्पन्न गर्न सक्छ।
के हुन्छ लक्षण ?
१. मुटुको धड्कन रोकिँदै चल्ने।
२. छातीमा तीव्र दुखाइ महसुस हुने
३. चक्कर लाग्ने
४. बेहोस हुने
५. कम सास आउने
६. छातीमा बेचैनी महसुस हुने
७. कमजोरी वा थकान महसुस हुने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।